कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था चिन्ताजनक

काठमाडौं – नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था चिन्ताजनक भएको पारिवारिक श्रोताले जानकारी दिएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री जोशीलाई मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचार गरिएको थियो ।

उनको अहिले अवस्था अत्यन्तै जटिल रहेको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नुभएको थियो ।

गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित हुनुभएको थियो। पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

२०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित जोशी प्रचण्ड नेतृत्वको माओवादी–कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बन्नुभएको थियो । जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया