यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण,जीपीए ४ ल्याउने संख्या झण्डै पाँच गुणाले वृद्धि

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८९६ मध्ये २ लाख ७१ हजार २९९ जना कक्षा ११ मा भर्ना योग्य भएका हुन्। यो दर गत वर्षको तुलनामा १३.९४ प्रतिशतले बढी हो। गत वर्ष ४७.८७ प्रतिशत मात्र उत्तीर्ण भएका थिए।

यस पटक ९७१ जना विद्यार्थीले पूर्ण अंक (जीपीए ४.०) प्राप्त गरेका छन्, जबकि गत वर्ष १८६ जनाले मात्र उक्त स्तर प्राप्त गरेका थिए। काठमाडौं जिल्लाबाट मात्रै ४१० जनाले जीपीए ४ ल्याएका छन्, जुन अघिल्लो वर्षको ९४ जनाको तुलनामा झण्डै पाँच गुणा बढी हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार शिक्षाको अधिकार स्थानीय तहमा पुगेपछि सिकाइमा सुधार आएको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नतिजा सन्तोषजनक भएको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्। तर शिक्षाविद् विद्यानाथ कोइरालाले भने यति छोटो समयमा परिणाममा आएको उल्लेखनीय वृद्धिमा प्रश्न उठाएका छन्। उनका अनुसार सिकाइको गुणस्तर सुधार नभई कृपावश अंक थपिएको हुनसक्ने आशंका गर्न सकिन्छ।

एसईई नतिजा अनुसार जीपीए ३.६०–४.० ल्याउने विद्यार्थी ४८ हजार १७७ जना रहेका छन् भने ३.२०–३.६० ल्याउने ८१ हजार ३८५ जना र २.८०–३.२० ल्याउने ८९ हजार १२४ जना रहेका छन्।

गणित, विज्ञान, अंग्रेजी र सामाजिकजस्ता विषयहरूमा धेरै विद्यार्थी 'ननग्रेडेड' (असफल) भएका छन्। गणितमा मात्रै १ लाख २८ हजार २१५ जना अनुत्तीर्ण भएका छन्। अंग्रेजीमा ८० हजार ६७२, विज्ञानमा ७९ हजार २७१ र सामाजिकमा ५३ हजार १८६ जना अनुत्तीर्ण भएका छन्।

यस वर्षको परीक्षा चैत ७ देखि १९ गतेसम्म सञ्चालन गरिएको थियो। नतिजामा चित्त नबुझे पुनर्योग तथा उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गरिएको छ, जसका लागि अनलाइन आवेदन दिन सकिने परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिएका छन्। अनुत्तीर्ण विद्यार्थीको पूरक परीक्षा २९ साउनदेखि सुरु हुनेछ।

एसईई नतिजा विवरण सारांश तालिका
जीपीए दायरा विद्यार्थी संख्या
३.६० – ४.०० ४८,१७७ जना
३.२० – ३.६० ८१,३८५ जना
२.८० – ३.२० ८९,१२४ जना
२.४० – २.८० ४८,४७९ जना
२.०० – २.४० ४,१२६ जना
१.६० – २.०० ८ जना
परीक्षा रद्द १२६ जना
अनुत्तीर्ण विद्यार्थी विवरण तालिका
विषय अनुत्तीर्ण विद्यार्थी संख्या
गणित १,२८,२१५ जना
अंग्रेजी ८०,६७२ जना
विज्ञान तथा प्रविधि ७९,२७१ जना
सामाजिक ५३,१८६ जना
नेपाली ५४,७३५ जना
अर्थशास्त्र ४२,१५० जना
ऐच्छिक गणित १८,२२२ जना

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय