विश्व ऊर्जा संकटको आशंका, नेपालमा इन्धन मितव्ययी प्रयोग गर्न निगमको आग्रह

काठमाडौं । सम्भावित विश्व ऊर्जा संकटको प्रभावलाई ध्यानमा राख्दै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा देखिएका पछिल्ला तनावका कारण विश्व बजारमा ऊर्जा आपूर्तिमा असर पर्न सक्ने आकलन गरिएको भन्दै निगमले समयमै सावधानी अपनाउन यस्तो अपिल गरेको हो।

निगमका अनुसार हालसम्म नेपालको इन्धन आपूर्तिमा कुनै प्रत्यक्ष असर परेको छैन र आपूर्ति व्यवस्था नियमित रूपमा सञ्चालन भइरहेको छ। तर नेपाल पूर्ण रूपमा आयातित पेट्रोलियम पदार्थमा निर्भर रहेको अवस्थामा विश्व बजारमा हुने कुनै पनि अवरोधले असर पार्न सक्ने भएकाले खपतमा संयम अपनाउन आवश्यक देखिएको जनाएको छ।

निगमले उपभोक्तालाई ग्यास र इन्धनको अनावश्यक भण्डारण नगर्न तथा आवश्यक परिमाणमा मात्रै खरिद गर्न आग्रह गरेको छ। घरमा अनावश्यक रूपमा ग्यास सिलिन्डर थुपारेर नराख्न, सम्भव भएसम्म ग्यासको सट्टा विद्युतीय उपकरणको प्रयोग बढाउन तथा सवारी साधनमा राइड सेयरिङ जस्ता उपाय अपनाएर इन्धन बचत गर्न सुझाइएको छ।

औद्योगिक क्षेत्रमा पनि इन्धन खपत घटाउने नीति अपनाउन र विद्युत उत्पादनका लागि जेनेरेटर प्रयोगलाई निरुत्साहित गर्न निगमले आग्रह गरेको छ। साथै बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन अनुगमनलाई कडा बनाइने जनाएको छ।

निगमले अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण गर्ने, तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने वा नियम विपरीत नयाँ सिलिन्डर बजारमा ल्याउने कार्य गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया