काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य नभएको निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगका अनुसार मतदाता परिचयपत्र नभए पनि अन्य पाँच प्रकारका आधिकारिक कागजातमध्ये कुनै एकको सक्कल प्रति प्रस्तुत गरेर मतदान केन्द्रमा प्रवेश गर्न सकिनेछ। मतदाता परिचयपत्रको विकल्पका रूपमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाणपूर्जा प्रयोग गर्न सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन्।
देशभरका १६५ निर्वाचन क्षेत्रमा मतदान गराउन दुई लाख २१ हजार कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ। ७७ जिल्लामा रहेका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी केन्द्रमा कर्मचारी खटाइएको सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। ५०० भन्दा बढी मतदाता रहेका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता रहेका केन्द्रमा आठ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयबाट तालिम दिइएको छ भने केन्द्रमा खटिने अन्य कर्मचारीलाई सम्बन्धित मतदान अधिकृतले प्रशिक्षण दिएका छन्।
निर्वाचनको स्वच्छता र सुरक्षालाई ध्यानमा राख्दै आयोगले आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम निषेधित कार्य रोक्न जिल्ला आचारसंहिता अनुगमन समितिलाई सक्रिय रहन भनिएको छ। मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम नतिजा घोषणा नभएसम्म मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारी तथा पासप्राप्त सवारीबाहेक अन्य सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइनेछ। अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। साथै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०८२ अनुसार मतदान मितिभन्दा ७२ घण्टाअघिदेखि अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि ४१ संस्थालाई पर्यवेक्षण अनुमति दिइएको छ र करिब पाँच हजार पर्यवेक्षकलाई परिचयपत्र जारी गरिसकिएको आयोगले जनाएको छ।