निर्वाचनको ४५ दिनअघि आचारसंहिता लागु गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान मितिभन्दा ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवाला निकायसँग रायसुझाव मागिरहेको छ भने आगामी साता राजनीतिक दल तथा सरकारसँग छलफल गरी अन्तिम रूप दिने तयारी अघि बढाएको छ।

कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता सम्बन्धी सुझाव संकलनको काम अन्तिम चरणमा पुगेको छ र दल तथा सरकारसँग छलफलपछि त्यसलाई औपचारिक रूपमा लागु गरिनेछ। अघिल्ला निर्वाचनमा पनि मतदान मितिभन्दा ४५ दिनअघि आचारसंहिता लागु हुँदै आएको उल्लेख गर्दै यस पटक पनि सोही अभ्यासलाई निरन्तरता दिइने उनले बताए। यस अनुसार माघको पहिलो सातादेखि आचारसंहिता लागू हुने सम्भावना छ।

निर्वाचन आयोग ऐन २०७३ ले दिएको अधिकारअनुसार आयोगले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आचारसंहिता जारी गर्ने गर्छ। आचारसंहिता लागू भएपछि सरकार, राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचनसँग असम्बन्धित विषयमा निर्णय गर्न पाउँदैनन्। विशेषगरी नियुक्ति, सरुवा, बढुवा तथा नीतिगत निर्णयमा कडाइ गरिने व्यवस्था छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मस्यौदामाथि प्राप्त सुझावलाई कानुन शाखामार्फत अध्ययन गरी उपयुक्त सुझाव समेट्ने काम भइरहेको जानकारी दिए। उनले केही दिनभित्रै आचारसंहितालाई अन्तिम रूप दिएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको स्पष्ट पारे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय