काठमाडौं — एनआईसी एसिया बैंकले सोमबार (चैत २५ गते) देखी आफ्नो नयाँ ऋणपत्र ‘७% एनआईसी एसिया डिबेन्चर २०९१’ को बिक्री खुला गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कूल ५० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो।
जसमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई निष्कासन गरिँदैछ भने बाँकी ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको भागबाट ५ प्रतिशत अर्थात १ लाख इकाई म्युचुअल फन्डहरूलाई छुट्याइएको छ।
१० वर्ष अवधि रहेको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
डिबेन्चरमा चैत २८ गतेसम्म आवेदन दिन सकिनेछ। यदि उक्त समयसम्म सम्पूर्ण इकाई बिक्री नभएमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिनका लागि लगानीकर्ताले आफ्ना आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो सेयर प्रणाली प्रयोग गर्न सक्नेछन्।
यस डिबेन्चरलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस’ प्रदान गरेको छ। जसले बैंकको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई ‘मध्यम सुरक्षित’ स्तरको संकेत गर्छ।