बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरको दिगो व्यवस्थापनका लागि आवासीय सुविधासहित ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै जाँदा दुर्घटना, टोकाइ तथा अन्य समस्या बढेपछि नगरपालिकाले उद्धार र संरक्षणको अभियान सुरु गरेको हो।
नगरपालिकाले बागलुङ नगरपालिका–३ सिम्लेमा पाँच रोपनी सार्वजनिक जग्गामा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरेको छ। पहिलो चरणमा बेवारिसे, बिरामी तथा अशक्त अवस्थामा रहेका २० वटा सामुदायिक कुकुरलाई होस्टेलमा राखिएको छ।
नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाका अनुसार होस्टेल निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च गरिएको छ। उक्त रकममध्ये ३५ लाख रुपैयाँ बागलुङ नगरपालिकाले तथा ६५ लाख रुपैयाँ मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको थियो। होस्टेल परिसरमा कुकुरका लागि आवास, खेल्ने खुला चौर, तारबार तथा आवश्यक हेरचाहको व्यवस्था गरिएको छ। साथै कुकुरको खानपान र रेखदेखका लागि कर्मचारीसमेत खटाइएको छ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रमसमेत सञ्चालन भइरहेको जानकारी दिँदै छाडा कुकुरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले होस्टेल निर्माण गरिएको बताए। उनका अनुसार घरपालुवा कुकुर बिरामी वा अनावश्यक भएपछि सडकमा छाड्ने प्रवृत्तिले बजार क्षेत्रमा समस्या बढ्दै गएको थियो।
यसैबीच, नगरपालिकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता व्यवस्था पनि लागू गरेको छ। दर्ता भएका कुकुरको पहिचान, खोप तथा औषधोपचारको व्यवस्था गरिनेछ। दर्ता गरिएको कुकुर सडकमा भेटिएमा सम्बन्धित घरधनीलाई जिम्मेवार बनाइने नगरपालिकाको योजना छ। कुकुर दर्ता गर्न २०० रुपैयाँ शुल्क तोकिएको छ।