काठमाडौं । नेपाल ले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुरमा सोमबार सम्पन्न फाइनलमा हङकङ लाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिका आधारमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
हङकङले दिएको १८९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो। लगातार पानी परेपछि खेल पुनः सञ्चालन हुन नसकेकाले डीएलएस नियम लागू गरिएको थियो।
डीएलएस अनुसार नेपालका लागि निर्धारित पार स्कोर ९५ रन थियो। खेल रोकिँदा नेपाल १९ रनले अगाडि रहेकाले विजेता घोषित भयो।
नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ४० बलमा ६५ रनको आक्रामक इनिङ्स खेले। कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले ९ रन जोडे।
यसअघि ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। हङकङका लागि अंशुमन राथले ४५ बलमा ८० रन तथा शाहिद वासिफले २८ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिएका थिए।
नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
नेपालले उपाधि जिते पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सर्वाधिक सफल रन चेजको कीर्तिमान बनाउने अवसर भने गुमायो। यदि १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको भए त्यो नेपालको इतिहासकै सबैभन्दा ठूलो सफल रन चेज हुने थियो। यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पछ्याएर जित निकालेको थियो।
फाइनलसम्म आइपुग्दा नेपाल र हङकङ दुवै टोली अपराजित थिए। तर उपाधि भिडन्तमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको ट्रफी आफ्नो नाम गर्न सफल भयो।