काठमाडौं – सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालमा धरपकड सुरु गरेको छ । प्रचण्ड–नेपाल समूहको आमहड्ताल विफल बनाउन देशभर सुरक्षा व्यवस्था कडा पारेको सरकारले बिहानैदेखि आन्दोलनकारीमाथि धरपकड सुरु गरेको हो ।
प्रहरीले आमहड्ताल सफल पार्न सडकमा उत्रिएका प्रचण्ड–नेपाल समूहका नेता–कार्यकर्ताहरु पक्राउ गर्न सुरु गरेको छ । यसैक्रममा प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका केही नेताहरुलाई कलंकीबाट पक्राउ गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य विष्णु सापकोटाले नेतृ शाक्यसहितका नेताहरुलाई प्रहरीले कलंकी क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरेका छन् । “आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ,” उनले भने ।