काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ संस्करण नजिकिँदै जाँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको नवीकरण कार्य तीव्र गतिमा अघि बढेको छ।
निर्माणको ठेक्का लिएको कम्पनीले म्याद सकिएपछि दैनिक दुई लाख रुपैयाँ जरिवाना तिर्दै जनशक्ति थपेर कामलाई तीव्रता दिएको हो। हालसम्म करिब १० हजार दर्शक क्षमताको प्यारापिटमध्ये ७७ प्रतिशत काम सकिएको छ। त्यसैगरी, फ्लडलाइट जडान कार्यको ४५ प्रतिशत प्रगति भएको छ। अहिले सम्म ४ हजार सिट जडान भइसकेको छ भने तीन वटा फ्लडलाइट पोलहरू पनि जडान भइसकेका छन्।
ड्रोन दृश्यमार्फत मैदानको नयाँ स्वरूप सार्वजनिक गरिएको छ। यद्यपि, ठेक्कामा उल्लेख भएको २०० दिनभित्र निर्माण कार्य नसकिए ठेक्का रद्द हुने जोखिम कायम छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्य तीव्र गर्न निर्देशन दिएपछि गति लिएको प्रोजेक्टको काम अगस्ट १५ भित्र सम्पन्न गर्नुपर्ने लक्ष्यसहित अघि बढाइएको छ। यसबीच, क्रिकेटप्रेमीहरू भने एनपिएलका रोमाञ्चक खेलहरू हेर्न आतुर भएका छन्।