काठमाडौं । नेपालमा खुकुलो मौद्रिक नीतिका कारण सेयर धितो कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा सेयर धितो कर्जा १८.०६ प्रतिशतले वृद्धि भई ९० अर्ब ९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको अन्त्यसम्म यो कर्जा ७६ अर्ब ३० करोड रुपैयाँ मात्र थियो।
समग्र बैंकिङ क्षेत्रमा कर्जाको माग कमजोर देखिए पनि सेयर धितो कर्जाको माग भने तीव्र रुपमा बढिरहेको छ। हाल बैंकहरुमा अधिक तरलता रहेकाले ब्याजदर निरन्तर घटिरहेको छ, तर अन्य कर्जाको माग भने बढेको छैन। यसैबीच, पछिल्ला महिनाहरुमा सेयर धितो कर्जाको मागमा उल्लेखनीय वृद्धि भएको बैंकरहरुको भनाइ छ।
सेयर बजारको निरन्तर वृद्धिका कारण पनि सेयर धितो कर्जामा आकर्षण बढेको देखिन्छ। नेप्से परिसूचक र कारोबार रकममा दिनहुँ रेकर्ड कायम हुँदै गएको छ। यससँगै सेयर कर्जाको माग पनि बढ्दो क्रममा छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले सेयर बजारप्रति केही लचिलो नीतिहरु अवलम्बन गरेको छ, जसले सेयर कर्जाको मागलाई थप बल दिएको छ।
केन्द्रीय बैंकले संस्थागत लगानीकर्ताका लागि मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लागु गरेको २० करोड रुपैयाँको सीमा हटाएको छ, जसले गर्दा सेयर कर्जामा थप विस्तार हुने अपेक्षा गरिएको छ। बैंकिङ क्षेत्रमा खुकुलो नीति, घट्दो ब्याजदर, र बढ्दो सेयर बजारका कारण आगामी दिनमा सेयर धितो कर्जा अझै बढ्ने अनुमान गरिएको छ।
गत आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा २५.०८ प्रतिशतले बढेर ५५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यसले ठूला लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गरेको संकेत गर्दछ। यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा पनि १२.८५ प्रतिशतले वृद्धि भएको छ।
यो वृद्धि देखाउँछ कि ठूला लगानीकर्ताहरुले बजारको न्यूनतम विन्दुमा रहेका बेला कर्जा लिएर लगानी गरेका छन्। यसको आधार गत वर्षको अन्तिम महिनाहरुमा संकलित तथ्यांकमा आधारितछ।