इजरायली अधिकारीको आशंका: विपिन जोशीको अवस्था अझै अन्योलमा

इजरायल–हमास युद्धको सुरुआतसँगै बेपत्ता भएका नेपाली युवा विपिन जोशी अझै जीवितै रहेको भन्ने विषयमा इजरायली अधिकारीहरूमा आशंका बढेको देखिएको छ। ‘द टाईम्स अफ इजरायल’ले बुधबार प्रकाशित गरेको समाचार अनुसार जोशीसहित दुई विदेशी बन्धक जीवितै छन् कि भन्ने कुनै स्पष्ट प्रमाण फेला परेको छैन।

समाचारमा उल्लेखअनुसार, युद्ध सुरु भएको केही समयपछिदेखि नै तीन जना बन्धक जीवित रहेको कुनै निश्चित संकेत नपाइएको इजरायली एक अधिकारीले जानकारी दिएका छन्। तीमध्ये दुई जना विदेशी नागरिक तथा एक जना इजरायली हुन्।

जीवित रहेको कुनै स्पष्ट प्रमाण नपाइए पनि ती विदेशी नागरिकहरूलाई औपचारिक रूपमा मृत घोषणा गरिएको छैन। जीवित रहेका भन्ने पुष्टि नभएको विदेशीहरूमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ परेका हुन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार दिएको जानकारी अनुसार हाल २१ जना बन्धकहरू जीवितै रहेको जनाइएको छ। तर, तीन जनाको अवस्था अस्पष्ट रहेको र उनीहरू जीवित छन् कि छैनन् भन्ने विषयमा अन्योल छ।

बन्धक परिवारलाई यस्ता संवेदनशील जानकारी नियमित रूपमा दिइने बताउँदै अधिकारीहरूले, “उनीहरूका प्रियजनको अवस्था बारे सबै जानकारी अद्यावधिक रूपमा परिवारसम्म पुर्‍याइन्छ,” भनेका छन्। इजरायली नागरिकका परिवार जस्तै विदेशी बन्धक परिवारहरूलाई पनि उत्तिकै सहयोग गरिने अधिकारीको भनाइ छ।

हाल हमासले ५९ जनालाई अझै बन्धक बनाइराखेको जनाइएको छ। तीमध्ये ३५ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ, जसमा तीन जना विदेशी नागरिकसमेत छन्।

प्रतिक्रिया