काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। बाढीका कारण जिल्लाका चार विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।
शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीबाट नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवी आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेका छन्। उनीहरूको अवस्थाबारे हालसम्म यकिन जानकारी प्राप्त हुन नसकेको इकाइ प्रमुख सिलवालले जानकारी दिए।
बाढीबाट प्रभावित अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। चिप्लेटी आधारभूत विद्यालयका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था गरिएको छ।
त्यस्तै, मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माध्यमिक विद्यालय भलायडाँडामा तथा मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा बसोबाससहित पठनपाठनको व्यवस्था मिलाइएको छ।
बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालयको पठनपाठन पूर्ण रूपमा प्रभावित भएको थियो। नौकुण्ड गाउँपालिकामा भने बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गतेदेखि नै पठनपाठन सञ्चालनमा ल्याइएको थियो।