☰

बाढीपहिरोको असरः विभिन्न जिल्लाका सडकखण्डमा यातायात प्रभावित

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्यांकअनुसार रसुवा, मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

रसुवामा गत असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। ती सडकखण्डमा अर्को सूचना नभएसम्म यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको नेपाल प्रहरीले जनाएको छ।

मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसारसम्म जाने सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। सडकमा यातायात सञ्चालन भए पनि बाढीका कारण सडकको अवस्था प्रभावित भएकाले सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।

म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुक्केबगरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

यसैगरी नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते साँझ ७ः३० बजे गएको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो ४ः४५ बजे गएको पहिरोका कारण पनि सडक एकतर्फी सञ्चालनमा छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन भने आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया