काठमाडौं । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.१४ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। बुधबार ४ अर्ब ७६ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बिहीबार ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार कित्ता सेयर ५१ हजार ७४५ पटकको कारोबारबाट ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ।
यस दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ९ प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यता कारोबारमा आएको सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.६६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको बैंकले असोज १६ गते बुक क्लोज गर्दैछ। लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन भएकाले बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो। त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको करिब २२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य बढेको हो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ। लगानी उपसमूहको परिसूचक भने स्थिर रहेको छ।