काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार पनि घटेको बजारले सोमबार त्यसैलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ३.२३ अंकले घटेको छ। त्यस्तै, फ्लोट इन्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१३ अंकले घटेका छन्।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा सोमबार ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वाधिक मूल्य बढ्ने १० कम्पनीको सूचीमा अधिकांश ऋणपत्र रहेका छन्। १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेञ्चरको मूल्य ५.७५ प्रतिशतले बढेको छ। त्यस्तै, १० प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आईएमई समुन्नत योजना–२ को मूल्य करिब ५ प्रतिशतले बढेको छ।
कारोबारमा आएको त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य भने यस दिन सर्वाधिक ५.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २२ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हाथवे इन्भेस्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये सोमबार एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको हो।
घट्ने उपसमूहमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घटेको छ। त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत् र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।