आज रामनवमी, भगवान् रामको सम्झनामा देशभर पूजा र श्रद्धा

काठमाडौं — भगवान् श्रीरामको जन्मोत्सवका रूपमा मनाइने रामनवमी पर्व आज आइतबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याको सुपुत्रका रूपमा जन्मिएका श्रीराम विष्णुको सातौँ अवतार मानिन्छन्। चैत्र शुक्ल नवमीका दिन पुनर्वसु नक्षत्रमा कर्कट लग्नसहित वृहस्पति, चन्द्रमा लगायत पाँच ग्रहको दुर्लभ योगमा भगवान् रामको जन्म भएको धार्मिक मान्यता छ।

वासन्तीय नवरात्रको नवमी तिथिमा पर्ने यो पर्व रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको सम्झनामा मनाइन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार रामनवमीको सार्थकता रामजस्तै मर्यादित, अनुशासित र उत्तरदायी शासकको कामना गर्नुमा रहेको छ। उनका अनुसार यस पर्वले शासन व्यवस्था र नागरिक चरित्र दुबैलाई अनुशासित र मर्यादित बनाउने प्रेरणा दिन्छ।

गाग्र्यतन्त्र र व्रतार्क धर्मग्रन्थका अनुसार चैत्र शुक्ल अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीमा रामचन्द्रको आराधना गर्दा चिताएको कार्य सफल हुने, पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने भनिएको छ। यस अवसरमा भारतको अयोध्या र नेपालको जनकपुरमा विशेष कार्यक्रम, रामलीला प्रदर्शन, मेला र पूजाआराधना गरिन्छ। जनकपुरस्थित रामजानकी मन्दिरमा आज नेपाल तथा भारतका श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।

रामनवमीका दिन व्रत बसेर, पवित्र जलाशयमा स्नान गरी रामायण, रामगीता, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय काव्यहरू पाठ गर्ने परम्परा छ। श्रीरामको जीवनशैली, पितृभक्ति, धर्मपालन र दुष्ट शक्तिमाथिको विजयको सन्देश बोकेको यो पर्वले धार्मिक मात्र नभई सामाजिक दृष्टिकोणले पनि गहिरो प्रभाव पार्ने विश्वास गरिन्छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय