आत्महत्या सोचिरहेका युवालाई गगनको आग्रह: ‘त्यसो नगर साथी, हामी छौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि समस्याका कारण निराश भई आत्महत्याको सोचमा पुगेका युवालाई जीवनप्रति आशा नहार्न आग्रह गरेका छन्।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘जरा अभियान’ समापन तथा ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान घोषणा कार्यक्रममा बोल्दै थापाले जीवन अन्त्य गर्ने निर्णय समाधान नभएको उल्लेख गरे।

‘यदि कुनै युवक वा नेपालीले आर्थिक, सामाजिक वा जुनसुकै कारणले आफ्नो जीवन अन्त्य गर्ने सोच बनाइरहेको छ भने म नेपाली कांग्रेसको सभापतिका रूपमा भन्न चाहन्छु– त्यसो नगर साथी, हामी छौं। हामी सम्हाल्छौं। एक्लै नसकिएला, मिलेर सक्छौं,’ उनले भने।

थापाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले नागरिकका दुःख, पीडा र समस्यामा साथ दिनुलाई नै राजनीतिको मूल उद्देश्य बनाएको स्मरण गर्दै जनताको दुःखमा साथ नदिने र चुनावका बेला मात्रै देखिने कांग्रेस, बीपीले परिकल्पना गरेको कांग्रेस हुन नसक्ने बताए।

उनले महासमिति बैठक र विशेष महाधिवेशनमार्फत कांग्रेसले राजनीतिक गतिविधिसँगै सामाजिक सेवालाई पनि समान प्राथमिकतामा राख्ने नीति पारित गरिसकेको जानकारी दिए। सोहीअनुसार पार्टीका प्रत्येक समितिले ५० प्रतिशत राजनीतिक गतिविधि र ५० प्रतिशत समुदायको हितमा केन्द्रित भएर काम गर्ने निर्णय गरिएको उनको भनाइ थियो।

थापाले ‘जरा अभियान’ सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै अब ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियानमार्फत नागरिकको कल्याण, अधिकार संरक्षण र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गरिने बताए।

प्रतिक्रिया