डीडीसीको चार अर्ब कारोबार, ६ करोड लिटर दूध प्रशोधन

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ।

संस्थानका अनुसार गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण किसानलाई भुक्तानीमा ढिलाइ भएको भए पनि अहिले बक्यौता भुक्तानी अवधि ६–७ महिनाबाट घटेर २–३ महिनामा सीमित भएको छ। डीडीसीका प्रवक्ता निलकण्ठ गौतमले फ्लस सिजनमा अपेक्षाभन्दा बढी दूध संकलन हुँदा त्यसलाई बटर र दूध पाउडरमा रूपान्तरण गरी भण्डारण गर्नुपरेकाले नगद प्रवाहमा दबाब परेको बताए। उनका अनुसार ती उत्पादन बिक्री हुन समय लाग्ने भएकाले किसानलाई भुक्तानी दिन ढिलो भएको हो।

‘हामी कुनै पनि किसानको दूध खेर जान दिँदैनौं। बढी उत्पादन भएको समयमा दूधलाई पाउडर र बटर बनाएर भण्डारण गर्नुपर्छ। ती उत्पादन बिक्री हुन कम्तीमा छ महिना लाग्ने भएकाले नगद प्रवाह प्रभावित हुन्छ,’ उनले भने। अहिले मौज्दात सामग्री क्रमशः बिक्री भइरहेकाले किसानलाई भुक्तानी सहज बन्दै गएको उनको दाबी छ।

डीडीसीले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका किसानबाट दूध संकलन गर्दै आएको जनाएको छ। दुर्गम क्षेत्रका किसानको दूध पनि बजारसम्म पुर्‍याउने सरकारी जिम्मेवारीका कारण निजी डेरीको तुलनामा ढुवानी, कोल्ड चेन र व्यवस्थापनमा बढी लागत व्यहोर्नुपर्ने प्रवक्ता गौतमले बताए। निजी डेरीहरूले प्रायः उत्पादन क्षेत्र नजिकबाट मात्रै दूध संकलन गर्ने भएकाले लागत व्यवस्थापनमा सहज हुने उनले उल्लेख गरे।

हाल खुला रूपमा बिक्री हुने दूध र निजी डेरीसँगको प्रतिस्पर्धालाई डीडीसीले प्रमुख चुनौतीका रूपमा लिएको छ। उपभोक्तामा खुला दूधप्रति अझै विश्वास कायम रहेकाले प्याकेजिङ गरिएको दूधको बजार विस्तारमा कठिनाइ रहेको गौतमले बताए। यद्यपि, डीडीसीले देशभरबाट संकलित दूधलाई पूर्ण कोल्ड चेन र सरकारी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरेर बजारमा ल्याउने गरेको जनाएको छ।

उनका अनुसार स्वदेशी उत्पादन प्रवर्द्धनका लागि सरकारी तहबाट भएको प्रचार–प्रसारले डीडीसीका उत्पादनको बिक्रीमा सकारात्मक प्रभाव पारेको छ। विशेषगरी दही, मोही, लस्सी र आइसक्रिमको माग चाडपर्व, विवाह, व्रतबन्ध तथा गर्मीयाममा उल्लेखनीय रूपमा बढ्ने गरेको उनले बताए।

डीडीसीले यस वर्षदेखि मोहीलाई नयाँ ब्रान्डिङसहित बजारमा ल्याएको छ। प्राकृतिक र स्वास्थ्यका दृष्टिले लाभदायक भएकाले मोहीलाई कोक, फ्यान्टा जस्ता चिनीजन्य पेय पदार्थको स्वदेशी विकल्पका रूपमा प्रवर्द्धन गर्न थालिएको संस्थानले जनाएको छ।

संस्थानका अनुसार गत वर्ष करिब ५०० मेट्रिक टन बटर र ७०० मेट्रिक टन दूध पाउडर मौज्दात थियो। अहिले वैशाखदेखि असोजसम्मको ‘लिन सिजन’ मा दूध उत्पादन घट्ने तर बजारको माग बढ्ने भएकाले ती मौज्दात क्रमशः बिक्री भइरहेको छ।

डीडीसीले उत्पादन प्रविधिको आधुनिकीकरणलाई अहिलेको प्रमुख आवश्यकता औंल्याएको छ। वि.सं. २०४५ पछि उत्पादन प्रविधिमा ठूलो लगानी हुन नसकेकाले अहिले पनि करिब ४० वर्ष पुरानो प्रणालीबाट उत्पादन भइरहेको गौतमले बताए। आधुनिक प्रविधिमा लगानी भए बेबी पाउडर, चकलेटलगायत मूल्य अभिवृद्धि भएका दुग्धजन्य उत्पादन नेपालमै उत्पादन गर्न सकिने उनको भनाइ छ।

‘डीडीसी सेवामूलक संस्था भएकाले आफैंले मूल्य निर्धारण गरेर ठूलो नाफा कमाउन सक्दैन। त्यसैले प्रविधि सुधारका लागि सरकारको लगानी आवश्यक छ,’ उनले भने। साथै, किसान र उपभोक्तालाई स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको प्रयोग बढाउन उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय