काठमाडौं । भारतले नेपालका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित थप २०० मेगावाट विद्युत् खरिद गर्न सहमति जनाएको छ। यसअघि ८१०.९ मेगावाटको निर्यात अनुमति प्राप्त नेपालले अब भारततर्फ १,०१०.९ मेगावाट बिजुली पठाउने स्वीकृति पाएको हो।
यससँगै बंगलादेशका लागि स्वीकृत ४० मेगावाटसहित नेपालको कुल विद्युत् निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारबाट साउन २६ मा प्राप्त यो अनुमति २०२५ अगस्ट ११ देखि अक्टोबर ३१ सम्म लागू हुनेछ।
निर्यात हुने विद्युत् लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादन हुने हो। आव २०८१/८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात भएको प्राधिकरणले जनाएको छ। थप स्वीकृतिहरू र भविष्यमा प्राप्त हुने अनुमतिले यस आवमा निर्यात दोब्बर हुने प्रक्षेपण गरिएको छ।