१३ चैतमा बालेन नेतृत्वमा नयाँ सरकार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा नयाँ सरकार १३ चैतमा गठन हुने भएको छ। पार्टीको शीर्ष नेतृत्वको बैठकले वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

संसद् सचिवालयले १२ चैत दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम तय गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बिहान राष्ट्रपतिबाट शपथ लिनेछन् भने अन्य सदस्यलाई उनी आफैंले शपथ गराउनेछन्।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार सोही दिन पार्टीको केन्द्रीय समिति बैठक बसेर संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि १३ चैतमा बालेनले प्रधानमन्त्रीको शपथ लिने र मन्त्रीहरूले पनि सँगै शपथ लिने कार्यक्रम तय गरिएको छ।

सरकार गठनबारे अन्तिम निर्णय बिहीबार साँझ दरबारमार्गस्थित होटेलमा बसेको बैठकले गरेको हो। उक्त बैठकमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाइसकेको छ। प्रतिवेदन बुझाएसँगै संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दललाई सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रतिनिधिसभाका २७५ सिटमध्ये १८२ सिट जित्दै रास्वपा दुईतिहाइ नजिक पुगेको छ, जसका आधारमा पार्टीले एकल सरकार गठन गर्ने तयारी गरेको हो।

समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई पनि निर्वाचन आयोग नेपाल ले प्रमाणपत्र प्रदान गरिसकेको छ।

यसैबीच, संसद् सचिवालयले १६ चैतमा संघीय संसद्को अधिवेशन बोलाउने प्रस्ताव गरेको छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया