सर्लाही: पूर्व सांसद रामचन्द्र रायको अपरिचित समूहद्वारा धारिलो हतियार प्रहार गरी हत्या भएको छ। घरमा सुतिरहेका रायलाई गयराति करिब १ बजेतिर टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
घटना सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर १, रतनपुरस्थित आफ्नै घरमा भएको हो। सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटना बारे जानकारी दिएका छन्।
हत्या बारे जानकारी प्राप्त हुनासाथ मधेस प्रदेशका डिआईजी यज्ञ विनोद पोखरेल र सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंह सहितको टोली घटना स्थल पुगेको थियो। ८० वर्षीय रायको हत्याको कारणबारे भने अहिलेसम्म स्पष्ट भएको छैन।
घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले बताए।