रवि लामिछाने सर्वोच्च अदालत जाने तयारीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुप्रिम सहकारी अपचलन मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर (बुटवल) इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने तयारी गरेका छन्। रुपन्देही जिल्ला अदालतको एक करोड धरौटीमा रिहा गर्ने आदेश उच्च अदालतले उल्ट्याएपछि सोमबार उनलाई कारागार चलान गरिएको थियो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले सर्वोच्च अदालत जाने विषयमा कानुनी परामर्श भइरहेको जानकारी दिए। उनका अनुसार थुनामा पठाउने आदेश बदर गराइ मुद्दा बाहिरैबाट लड्न पाउने मागसहित सर्वोच्चमा निवेदन दिने तयारी भइरहेको छ। लामिछानेले पनि अदालतको आदेशको सम्मान गर्दै कानुनी प्रक्रिया अनुसार उच्च अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने निर्णय गरेका छन्।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतले माघ १३ गते लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिल र लामिछाने दुवै पक्ष उच्च अदालत गएका थिए। त्यसपछि उच्च अदालतले चैत २२ गते जिल्ला अदालतको आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उक्त आदेशपछि प्रहरीले सोही दिन राति प्रक्रियासमेत पूरा नगरी लामिछानेलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई तीन रात प्रहरी हिरासतमा राखिएपछि सोमबार रुपन्देही जिल्ला अदालतमा पेश गरियो र त्यसपछि कारागार चलान गरियो। अदालतमा पेश गर्दा मुख्य गेटबाट प्रवेश गराइए पनि कारागार लैजाँदा अर्को गेट प्रयोग गरिएको थियो।

अदालत वरपरका सडकहरूमा ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको थियो भने पत्रकारहरू अदालतबाहिर प्रतीक्षारत रहँदा लामिछानेलाई सुटुक्क कारागार पुर्‍याइएको थियो।

कारागारबाट रास्वपाका नेतामार्फत लामिछानेले चारवटा सन्देश सार्वजनिक गरेका छन्। पहिलो सन्देशमा उनले अदालतको आदेशको सम्मान गर्दै कानुनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन्। दोस्रो सन्देशमा न्यायको मन्दिरबाट अन्याय नहुनेमा विश्वास रहेको तर विभिन्न आशंका उठिरहेको उल्लेख गरेका छन्।

तेस्रो सन्देशमा उनले पार्टी एकढिक्का बनाएर जनअभियानलाई जनताको माझ पुर्‍याउन आग्रह गरेका छन् भने चौथो सन्देशमा आफूविरुद्ध राजनीतिक प्रतिशोध भएको दाबी गर्दै भविष्यमा सबैको पालो आउने चेतावनी दिएका छन्। “यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, जसरी मैले दिएँ, अरूले पनि दिनुपर्नेछ,” उनले भनेका छन्।

प्रतिक्रिया