चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने


काठमाडौं– नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग पु¥याउने उद्देश्यले चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा आगामी पुसको २ देखि४ गतेसम्म प्रर्दशनीको आयोजना गरिएको छ । आइतबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरी जानकारी गराइएका हुन् ।


प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सय भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएका छन् । प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रको समेत सहभागिता रहनेछ ।  प्रर्दशनीमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा निःशुल्क स्टलको व्यवस्था गरिने छ । प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवद्र्धन केन्द्रको तर्फबाट पुरस्कार तथा सम्मान गरिनेछ । यसैगरी, प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरूको समेत प्रदर्शनी हुनेछ । 


औद्योगिक प्रवद्र्धन, नवीन प्रविधि हस्तान्तरण र पर्यटन प्रवद्र्धनका लागि प्रदर्शनी महत्वपूर्ण हुने नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । ‘कोभिड १९ का कारण औद्योगिक गतिविधि सुस्त भएको सन्दर्भमा बजारलाई चलायमान बनाउन यस प्रदर्शनी महत्वपूर्ण सावित हुनेछ,’ उनले भने । 


यसैगरी, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका निर्देशक ऋषिराम पंगेनीले उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको बताए । यसैगरी, राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्तक एवं अध्यक्ष महावीर पुनले उद्यमशीलता र नवीन सोच प्रवर्तनका लागि आविष्कार केन्द्रले काम गरिरहेको बताए । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र उद्योगीहरूको जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया