आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहनेछ भने कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका केही तराई क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले बागमती, गण्डकी तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय