थ्री-डी म्यामग्राफी खरिदमा करोडौं घोटाला

सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत थ्री(डी म्यामग्राफी मेसिन खरिद प्रक्रियामा ठूलो अनियमितता भएको पाइएको छ। विभागले बिपी अस्पताल धरान, भरतपुर क्यान्सर अस्पताल, नारायणी अस्पताल, लुम्बिनी अस्पताल, र सिभिल अस्पतालका लागि पाँच थान म्यामग्राफी मेसिन खरिद गरेको थियो। तर, यी मेसिनको लागत मूल्य भन्दा झन्डै दोब्बर बढी रकममा खरिद गरिएको देखिएको छ।

थ्री(डी म्यामग्राफी मेसिनको सामान्य बजार मूल्य प्रतिकपल अधिकतम एक करोड ४० लाख पर्ने भए पनि विभागले प्रति मेसिन दुई करोड ४० लाख रूपैयाँ तिरेर खरिद सम्झौता गरेको छ। विभागका अनुसार खरिद प्रक्रिया गत असार मसान्तसम्म सम्पन्न हुने गरी अघि बढाइएको थियो। तर, सबै मेसिन हालसम्म प्राप्त नभएको स्रोतको दाबी छ।


विभागले पाँचवटै मेसिनको भुक्तानी गरिसकेको देखिए पनि भन्सार प्रज्ञापनपत्रमा सबै मेसिन नेपालमा आइपुगेको प्रमाण छैन। म्याक्सिम इनकर्पोरेसन ट्रेडर्स नामक कम्पनीलाई यी मेसिन आपूर्ति गर्ने जिम्मा दिइएको थियो। तर, कम्पनीले समयमै मेसिन आपूर्ति नगरेको र अझै अस्पतालमा जडान समेत नभएको पाइएको छ।


यो खरिद प्रक्रिया दुई चरणमा अघि बढाइएको थियो। सुरुमा १९ अक्टोबर २०२३ मा ‘टु(डी म्यामग्राफी’ मेसिनका लागि बोलपत्र आह्वान गरिएको थियो। त्यसपछि, १४ डिसेम्बरमा उक्त बोलपत्र रद्द गर्दै ८ मे २०२४ मा ‘थ्री(डी म्यामग्राफी’ का लागि नयाँ बोलपत्र निकालियो।

दुबै चरणमा बोलपत्र यस्तो ढंगले तयार पारिएको थियो कि ठेकेदार म्याक्सिम इनकर्पोरेसन ट्रेडर्सले मात्र प्रतिस्पर्धा गर्न पाउने देखिन्थ्यो। स्रोतका अनुसार, बोलपत्रमा मेटल ट्रोनिका नामक इटालियन कम्पनीका उपकरणलाई प्राथमिकता दिइएको थियो, जसको आधिकारिक नेपाली एजेन्ट म्याक्सिमले दाबी गरे पनि अर्को कम्पनी, शिवम् इन्टरप्राइजेज,ले कानुनी रूपमा चुनौती दिने जनाएको छ।


विभागका कर्मचारी र म्याक्सिम इनकर्पोरेसनबीच सेटिङ गरी ठेक्का प्रक्रिया अघि बढाइएको आरोप छ। कर्मचारीले टेन्डरका मापदण्ड ठेकेदारको अनुकूल बनाएर प्रतिस्पर्धीलाई बाहिर निकाल्ने प्रयास गरेको दाबी गरिएको छ।


म्याक्सिम इनकर्पोरेसन यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री खरिदमा विवादमा परेको थियो। धनगढीका लागि करिब ४० करोडको सामग्री खरिद गर्दा अनियमितताको आरोप लागेको थियो। यसअन्तर्गत, नाइट्रिक अक्साइड मेसिन, पीसीआर किट, र अन्य सामग्री खरिद गर्दा ठेकेदारलाई फाइदा पुग्ने गरी प्रक्रिया अघि बढाइएको थियो।


विभागका खरिद शाखा प्रमुख डा। सुरेन्द्र चौरसियाले सबै मेसिन आपूर्ति भइसकेको दाबी गर्दै खरिद प्रक्रिया नियमअनुसार भएको बताए। यद्यपि, अस्पतालमा मेसिन जडान भइनसकेको उनले स्वीकारे। भुक्तानी सम्बन्धी प्रश्नमा भने उनले जानकारी नभएको प्रतिक्रिया दिए।


यो प्रकरणले सरकारी खरिद प्रक्रियामा भएको अनियमिततालाई उजागर गरेको छ। पारदर्शिता र जवाफदेहिताको अभावले यस्तो विवाद जन्माएको आरोप लगाइएको छ। यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ। Nagarikdaily

प्रतिक्रिया