बागलुङ बजारका दुई युवा व्यवसायीले बागलुङ कालिका मन्दिर र समिक्षालयचोकमा निःशुल्क वाईफाई सेवा सुरु गरेका छन्। सगरमाथा कम्प्युटर हाउसका सञ्चालक नैबेद्य सिग्देल र सिर्जना फर्निचरका विराट हरिजनले व्यक्तिगत लगानीमा द्रुत गतिको इन्टरनेट सुविधा उपलब्ध गराएका हुन्।
यी युवाले बागलुङ बजारको सरसफाइ, सडक मर्मत र नाली सफाइमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। बजारका तीन स्थानमा वाईफाई जडान गर्ने योजनाअनुसार पहिलो चरणमा कालिका मन्दिर र समिक्षालयचोकमा सेवा सुरु गरिएको हो। यो सुविधा एक सय मिटर वरपरको क्षेत्रमा निःशुल्क प्रयोग गर्न सकिन्छ।
सिग्देलका अनुसार, एक सय मिटर परसम्म वाईफाई टिप्न सक्ने उपकरण जडान गरिएको छ, जसको मूल्य करिब ३७ हजार रुपैयाँ पर्छ। उनले तीनवटा उपकरण खरिद गरेको जनाउँदै दुईवटा जडान भइसकेको र अर्को स्थान खोजी भइरहेको बताए। ती मध्ये एक उपकरण अमेरिकाबाट साथीले पठाइदिएको र बाँकी दुई उनीहरुले आफैं खरिद गरेका हुन्।
धार्मिक तथा स्थानीय पर्यटकलाई लक्षित गर्दै कालिका मन्दिर र आसपासका क्षेत्रहरूमा इन्टरनेट उपलब्ध गराइएको हो। सिग्देलले बागलुङ बजारमा सडक बत्ती जडान र मर्मतको योजना पनि अघि सारिएको बताए।
बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले यी युवाको पहलको प्रशंसा गर्दै वाईफाई सेवाबाट मन्दिरमा आउने भक्त तथा पर्यटकलाई ठूलो सुविधा पुग्ने बताएका छन्। स्थानीयले नगरपालिकाले गर्न नसकेका काम युवाहरुले गर्न थालेको भन्दै उनीहरुको सक्रियतालाई सराहना गरेका छन्।