काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्।
सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै प्रधानले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको जनाएका छन्। उनले नेपालको संविधान र संसदीय सुनुवाइ समितिको प्रक्रियामा उच्च विश्वास रहेको पनि बताएका छन्।
प्रधानले समितिलाई दिएको पत्रमा भनेका छन्, "मेरो सम्बन्धमा संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान् रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु।"