देउवा पक्षको रिटमा अन्तरिम आदेश नआएपछि गगन थापा नेतृत्वलाई बाटो खुला

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश नआएपछि निर्वाचन आयोगको निर्णय यथावत् रहने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा आज भएको सुनुवाइपछि तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरिएको हो।

तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्नुअघि दुवै पक्षलाई छलफलका लागि बोलाउने जनाएको छ। यससँगै आयोगको निर्णय कार्यान्वयनमा कुनै अवरोध नआउने अवस्था बनेको छ।

निर्वाचन आयोगले यसअघि नै विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गरिसकेको छ। सोही निर्णयका आधारमा कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको छ। अदालतको आजको निर्णयपछि गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन तयारी र पार्टी गतिविधि अघि बढाउन सहजता प्राप्त भएको छ।

प्रतिक्रिया