काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापतिमा निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
यसअघि खुलातर्फको उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका थिए। सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध चयन भएका छन्।
त्यस्तै, महामन्त्री पदमा विपिन आचार्य निर्वाचित भएका छन्। यसअघि सहमहामन्त्रीको जिम्मेवारी सम्हालिरहेका आचार्यले महाधिवेशनबाट पदोन्नति गर्दै महामन्त्रीको जिम्मेवारी प्राप्त गरेका हुन्।
सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन्। निर्वाचन परिणामसँगै रास्वपाले आफ्नो नयाँ नेतृत्व टुंगो लगाएको छ।
महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको संगठन विस्तार, नीति निर्माण तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।