अर्थमन्त्रीको संकेत– सुधारोन्मुख अर्थतन्त्रलाई सबल बनाइने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन्।

आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझ्दै उनले अहिले मुलुकको आर्थिक अवस्था लयमा फर्किन थालेको उल्लेख गरे। उनले सबल अर्थतन्त्र निर्माण गर्नका लागि बजेटमार्फत थप पहल गरिने जानकारी गराए।

पौडेलले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार लगातार सक्रिय रहेको र त्यसको प्रभावस्वरूप पछिल्लो समय अर्थतन्त्रका परिसूचकहरू सकारात्मक दिशामा अघि बढेको बताए। वर्तमान सरकारकै प्रयासले आर्थिक वृद्धिको लक्ष्यमा समेत सन्तोषजनक प्रगति भएको उनको भनाइ थियो।

उनले निजी क्षेत्र र सहकारी क्षेत्रले उठाएका समस्या समाधानका लागि आवश्यक कानून निर्माण भइसकेको पनि जिकिर गरे।

पौडेलले मुलुक स्थिरताको यात्रामा अगाडि बढिरहेको तर केही अस्थिरतावादी प्रवृत्तिहरूले त्यसको विपक्षमा गतिविधि गरिरहेको बताए। तर ती प्रयासहरू विफल हुने उल्लेख गर्दै स्थिरता केवल सरकार टिकाउन नभई संविधानको रक्षा र आर्थिक सामाजिक सुधारका लागि आवश्यक भएको धारणा राखे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय