काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बहसको लागि चुनौती दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै त्यसका लागि आफू तयार रहेको बताएका हुन् । निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै उनले आफू त्यसका लागि तयार रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि !’