बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् । बैठक सार्ने ओलीको प्रस्ताव बोकेर मंगलबार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने भन्दै अस्वीकार गरेका हुन् ।

अर्थमन्त्री समेत रहेका पौडेलले प्रचण्डसँगको भेटमा समस्या समाधानको सूत्र खोजेर मात्रै बैठक बस्न उपयुक्त हुने ओलीको सन्देश सुनाएका थिए । ‘पार्टीभित्रको विवादको समाधान खोजेर मात्रै सचिवालय बैठक बसौँ। त्यसका लागि बुधबारको बैठक केही दिन पर सारौँ र सहमतिका लागि छलफल गरौँ भन्ने ओलीको प्रस्तावलाई अध्यक्ष कमरेडले अस्वीकार गर्नुभयो’, प्रचण्ड निकट एक नेताले भने, ‘अध्यक्षले बैठकको मिति भएकाले बैठक सार्नु राम्रो नुहने बरु भोलिकै सचिवालयमा बाँकी छलफल गरौंला भनेपछि महासचिव सोही सन्देश बोकेर बालुवाटार जानुभएको छ ।’

महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्षसँग भोलिको बैठकबारे छलफल भएको स्वीकार गरेपनि अरु केही बताएनन् ।
ओलीको सन्देश बोकेर महासचिव पौडेल खुमलटारमा
शुक्रबार सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको छ । शुक्रबारको बैठकअघि अध्यक्षद्वयबीच पत्रमार्फत एकअर्कामा जवाफ आदान प्रदान भएको थियो । सोही बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा समेत ओली सकारात्मक छैनन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले पटकपटक अनौपचारिक बैठक बसेर सचिवालयको औपचारिक बैठकका लागि ओलीलाई दबाब दिएपछि कार्तिक २८ गते ४० मिनेट बैठक बसेको थियो ।

प्रचण्डको बैठक नरोक्ने जवाफ बोकेर महासचिव विष्णु पौडेल मंगलबार नै बालुवाटार पुगेपछि ओलीले आफू निकटका नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका छन् । सो छलफलमा पनि ओलीले पहिला दुई अध्यक्षबीच सहमति कायम गरेर मात्रै सचिवालय बैठक बस्नुपर्ने भन्दै के गर्दा ठिक हुन्छ भनेर धारणा मागेका थिए ।

‘प्रधानमन्त्रीले समस्या समाधानका लागि छलफल गर्न बोलाउनुभएको रहेछ । दुई नेताबीच सहमतिपछि मात्रै बैठक बस्न उपयुक्त हुन्छ भन्ने उहाँको मतमा र सहभागीहरुले पनि समर्थन जनाएका छौँ’, बालुवाटार पुगेका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया