काठमाडौँ । अब छापिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नेपाल सरकारको स्वामित्वमा रहेको सुरक्षण मुद्रण केन्द्रले छाप्ने भएको छ। नयाँ लाइसेन्समा अघिल्लो संस्करणको जस्तो ‘चिप’ भने नहुने भए पनि यसमा उच्चस्तरको सुरक्षा प्रणाली हुने भएको छ।
गत भदौमा भएको जेन जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी हुँदा प्रिन्टिङ मेशिन र डेटा प्रणाली नष्ट भएपछि विभागले सुरक्षण मुद्रण केन्द्रसँग नयाँ समझदारी गरेको हो। विभागका निर्देशक नरहरि तिवारीका अनुसार हाल विभागसँग आफ्नै मेशिन नहुँदा सेवामा अवरोध भएको छ, त्यसैले कानुनी व्यवस्था अनुसार केन्द्रमार्फत लाइसेन्स छाप्ने तयारी भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले छ महिनाभित्र करिब १२ लाख नयाँ लाइसेन्स छाप्ने सहमति गरेको छ। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले नयाँ कार्डमा ‘क्यूआर कोड’ हुने र त्यसमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुने बताए।
ढुङ्गानाका अनुसार यो कार्ड ‘स्मार्ट’ हुने भए पनि अघिल्ला चिपयुक्त कार्डभन्दा अझ परिष्कृत सुरक्षा प्रविधि भएको हुनेछ। उनले भने, “नयाँ कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन्। ट्राफिक प्रहरीले अफलाइनमै क्यूआर स्क्यान गरेर जाँच गर्न सक्नेछ।”
हाल तत्काल चिपयुक्त कार्ड छाप्ने अवस्था नभए पनि विभागसँग बाँकी रहेका करिब ६ लाख चिपयुक्त कार्डहरू पनि पुनः प्रयोगमा ल्याइनेछ।
अधिकारीहरूले आगामी साताभित्रै आवश्यक डेटा सुरक्षण मुद्रण केन्द्रलाई पठाउने र त्यसपछि छपाइ सुरु हुने जनाएका छन्। पहिलो चरणमा लामो समयदेखि छाप्न बाँकी रहेका लाइसेन्सहरूलाई प्राथमिकता दिइनेछ।
सुरक्षण मुद्रण केन्द्रका अनुसार छ महिनाभित्र पहिलो चरण पूरा गरी अर्को तीन महिनामा बाँकी सबै लाइसेन्स छपाइ सक्ने लक्ष्य राखिएको छ। केन्द्रको कारखाना बनेपामा रहेको छ, जहाँ कच्चा पदार्थ ल्याएर कार्ड तयार पारिन्छ।