आयात घट्दा पनि बढ्यो भन्सार राजश्व

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार आएको छ । सिंगो वस्तु तथा सेवाको आयातमा गिरावट नै छ । तर, आयात घट्दा पनि सरकारले प्राप्त गर्ने त्यस बापतको राजश्व भने वृद्धि भएको छ । भन्सार राजश्व दोहोरो अंकले बढेको छ।

भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा नेपालको कुल आयात २१ अर्ब २२ करोड १४ लाख रुपैयाँले घटेको छ ।

आठ महिनाको अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ छ । गत आवको ७ महिनासम्म ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको आयात भएको थियो । यसरी आयात घट्दा पनि त्यसबात सरकारले प्राप्त गर्ने राजश्व भने गत वर्षको तुलनामा ११.४३ प्रतिशत बढेको छ ।

चालु आवको पहिलो ७ महिनामा २ खर्ब ३६ अर्ब ३८ करोड २५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने २४ अर्ब २५ करोड ५० लाख रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा भने सरकारले आयात बापत २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ राजश्व उठाएको थियो ।

भन्सार विभागले आन्तरिक नियन्त्रण प्रणालीमा गरिएको कडाइले नै राजश्व बढेको विभागले जनाएको छ । केही नीतिगत परिवर्तन र प्रशासनिक सुधारले नै राजश्व बढाएको विभागका अधिकारीले बताउँछन् । राजश्व चुहावटमा लिएको शून्य सहनशीलता र नीतिग परिवर्तनकै कारण आयात घट्दा पनि राजश्वमा बढोत्तरी आएको विभागको भनाई छ ।

आर्थिक शिथिलतकै कारण अहिले वस्तु तथा सेवाको माग कमी आएको छ । बजार मागमा आएके कमीले आयात घटेको छ ।

निर्यात पनि ७ प्रतिशत घट्यो, व्यापार घाटा ८ खर्ब माथि

समिक्षा अवधिमा आयातसँगै निर्यात पनि घटेको छ । गत वर्षको माघ मसान्तसम्मको तुलनामा निर्यात ७.०७ प्रतिशत कमी देखिएको छ।

नेपालले समिक्ष अवधिमा वर्ष ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । तर, यो गत वर्षको तुलनामा भने ६ अर्ब ६० करोड १४ लाख रुपैयाँ कमी हो । गत वर्षको सोही अवधिमा कुल ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको निर्यात व्यापार गरेको थियो ।

७ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । तर, यो वर्षको तुलनामा २.७५ प्रतिशत कमी हो । गत वर्ष नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । आयातको तुलनामा निर्यात न्यून भएसँगै व्यापार घाटा पनि ८ खर्ब माथि पुगेको छ । समिक्षा अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया