प्रभु बैंकद्वारा अन्नपूर्ण माविलाई स्मार्ट बोर्ड हस्तान्तरण

गोरखा । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।

प्रभु बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको हो। शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

स्मार्ट बोर्डको प्रयोगसँगै विद्यालयमा डिजिटल शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ। यसले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउनुका साथै सिकाइलाई अझ सहज र आकर्षक बनाउने विश्वास गरिएको छ।

हाल विश्व तीव्र रूपमा डिजिटल रूपान्तरणतर्फ अग्रसर भइरहेको अवस्थामा विद्यार्थीहरूलाई समयानुकूल ज्ञान, सीप र प्रविधिको पहुँच उपलब्ध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ। बैंकले यस किसिमका पहलमार्फत भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति निर्माणमा योगदान पुग्ने जनाएको छ।

प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नुका साथै डिजिटल विभाजन न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै यस सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय