मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बनमा, वरिष्ठ सचिव गडतौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालिन

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्य सचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन्।

सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था अनुसार उनी निलम्बनमा परेका हुन्।

मुख्य सचिवको जिम्मेवारी वरिष्ठ सचिव गडतौलालाई

मुख्यसचिव अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव लीलादेवी गडतौलाले स्वतः निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन्।

सरकारले तत्काल मुख्यसचिव नियुक्ति गर्न चाहेको अवस्थामा मुख्य सचिव अर्यालको पद सारेर हाल कार्यरत वरिष्ठ सचिवमध्येबाट उपयुक्त लागेका एक सचिवलाई मुख्य सचिव नियुक्ति प्रक्रिया अघि बढाउन सक्नेछ। केही दिन लाग्ने भएको अवस्थामा निमित्त मुख्य सचिव गडतौलालाई नै कायम राख्न सक्नेछ।

यदि केही हप्ता वा महिना नै लाग्ने भएको अवस्थामा गडतौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारीसमेत दिन सक्ने र त्यसपछि मुख्य सचिव नियुक्ति गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सचिव गडतौलाको योग्यता

सचिव गड्तौला साढे ३ वर्ष अघि २०७७ कात्तिक गते नेपाल न्याय सेवाको कानून समूहतर्फ सहसचिवबाट सचिवमा बढुवा भएकी थिईन। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानून तथा मानव अधिकार क्षेत्र हेर्दै आएकी छन्। ५८ वर्षे उमेरहदका कारण गड्तौलाले आगामी भदौ महिनामा अनिवार्य अवकाश पाउनेछिन्।

प्रतिक्रिया