आचरण विपरित काम गर्ने मत्स्य निर्देशनालयका कर्मचारीको सरुवा

हेटौंडा–राजनीतिक शक्तिकेन्द्रको आडमा निजामति प्रशासनमा आचरण विपरित काम गर्दै आएको नौलो होइन । तल्लो तहका कर्मचारीले उपल्लो तहका कर्मचारीको निर्देशन अटेर गर्ने, मनमौजी ढंगले काम हुँदै आएका छन् । निजामति प्रशासनमा देखिएको अराजकता र दादागीरीको पछिल्लो दृष्टान्त पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशमा देख्न पाइन्छ ।


कानूनको पालन गर्दै काम गर्नुपर्ने कर्मचारीहरु उत्श्रृखल गतिविधिमा सम्लग्न भई राजनीतिक आडमा ११ महिना सम्म कुनै पनि कार्यक्रम नगरी आफ्नो सेवा सुविधा मात्र लिइ किसानको अहित हुनेगरी काम गरेको पाइएको छ । आफ्नो कार्यालयमा भएको गोप्य सूचना चुहाउनेदेखि लिएर मन्त्री र सचिवमा भएको छलफलमा अडियो रेकर्ड गरी सार्वजनिक गर्ने जस्ता जघन्य अनुशासनहीन गर्दै आएका थिए ।

 अवकास हुने बेला भएका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका  वरिष्ठ पशु विकास अधिकृत डा.मोगल प्रसाद शाहको नेतृत्वमा त्यहाँका केही कर्मचारी आचरण विपरितका काम गर्नुका साथै किसानलाई दुःख दिँदै आएको गुनासो पछि मन्त्रालयले शाह लगायत केही कर्मचारीको सरुवा गरेको छ ।


मन्त्रालयले गलत कार्यमा सहभागी भएका कर्मचारीहरुलाइ प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाको सर्तहरुको सम्वन्धमा बनेको अध्यादेश २०७८ बमोजिम सरुवा गरेको हो । शाहसहित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका हेटौैैंडाका पशु विकास अधिकृत ध्रुव डी.सी.र  बब्लु ठाकुरले आचरण विपरितका कार्य गरे पछि  सरुवा गरेको छ । शाहको स्थानमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा डा.बज्र किशोर ठाकुरलाई निमित्तको जिम्मेवारी तोकिएको छ । शाहलाई मन्त्रालय तानिएको छ ।


मन्त्रालयले पशु विकास अधिकृत ध्रुव डी.सी.को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा सरुवा गरेको छ । बब्लुलाई नुवाकोट सरुवा गरिएको छ । असार ५ गते अवकास लिएर जान लागेका डा. मोगल प्रसाद शाहले चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कामका फाइल लामो समयदेखि कुनै पनि फाइल अघि नबढाएर राखेका थिए । आँफूसँग स्वार्थ मिल्ने बाहेकका फाइल अघि नबढाए पछि किसानले कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईँ र मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेसँग गुनासो गरेका थिए ।


पशु स्रोत केन्द्र स्थापना सम्बन्धि कामको फाइल अघि बढाउन मन्त्रीले निर्देशन दिए पनि शाहले लामो समय अल्झाएर राखेका थिए । शाहले आँफूले फाइल अड्काएर राख्ने अनि मन्त्री र सचिवको निर्देशनमा फाइल रोको भन्दै किसानलाई उकास्ने काम गर्दै आएका थिए । पशु स्रोत केन्द्रको अनुदानका विषयमा मन्त्री र प्रमुख शाहबीच विवाद भएको थियो । शाहले अनुदान कार्यविधि अनुसार रिजल्ट निकालेको बताउँदै आए पनि सम्झौता नगरी किसानलाई भड्काउने काम गर्दै आएका थिए । त्यसैगरी, किसानलाई दिने दूधको अनुदानको रकम पनि नदिएपछि किसान आक्रोशित भएका थिए ।


एमाले नेताको आर्शिवाद पाएका आचरण विपरितका कार्य गर्ने शाह लगायतका कर्मचारीको सरुवा भए पछि एमाले नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले यो विषयमा प्रदेश संसदमा कुरा उठाएका थिए । मुख्यमन्त्री सुरेन्द्र पौडेलले मन्त्री, सचिवको निर्देशन पालना नगर्ने कर्मचारीको सरुवा भएको बताएका थिए । कर्मचारी अराज भएको भन्दै प्रमुख सचिवको संयोजकत्वमा छानविन समिति गठन गर्ने बताएका थिए । निर्देशनालयमा कामलाई छिटोछरितो तत्काल  अगाडी वढाउन  मन्त्रालय मातहतका कार्यालयहरुवाट कर्मचारीको व्यवस्थापन गरी काजमा खटाइएको मन्त्रालयका सचिव डा शरण कुमार पाण्डले बताए ।


काम नगरेपछि किसान समेत हैरान भएका थिए । किसानलाई दुःख दिने कर्मचारीको सरुवा गर्न भन्दै किसानले पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।मन्त्रालयको निर्णयको किसानले स्वागत गरेका छन् । चितवन दुग्ध उत्पादक सहकारी संघ, चितवन केरा संघले पत्रकार सम्मेलननै गरी मन्त्रालयको कदमलाई स्वागत गरेका थिए । अव किसानको काम हुन्छ भन्ने कुरामा ढुक्क भएको दुग्ध सहकारी संघका सचिव किशोर वगालेले बताए ।


किसानप्रति उत्तरदायी नभएको गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईँकोमा पनि पुगेको थियो । नियम अनुसार गनुपर्ने काम नगर्ने, अटेर गर्ने, निर्देशन पालना नगर्ने, सूचना चुहाउने जस्ता अराजक गतिविधिले मन्त्री र कर्मचारी आजित भएका थिए । जनताप्रति उत्तरदायी नहुने र अराजक गतिविधिमा सम्लग्न हुने कर्मचारीलाई कानुनी दायरामा ल्याउने मन्त्री हुमागाइले बताए ।

 

प्रतिक्रिया