काठमाडौं– नेकपाका महासचिव विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले पछि भन्सार र करदाता सेवा कार्यालयमा कर्मचारी सरुवामा एउटा गिरोह सक्रिय भएको छ । मुलुकको ढुकुटी जम्मा गर्ने भन्सार, करदाता कार्यालय कर्मचारीका लागि आकर्षक मानिन्छन् ।
‘माल’ उठाउन सक्ने भन्सार कार्यालयमा पठाउन भन्दै एउटा समूहले कर्मचारीसँग पैसा उठाउन थालेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्रीको भनसुनमा आकर्षक भन्सारमा जानका लागि एउटा समूहले सेटिङ मिलाउन थालेको हो । पौडेल मन्त्रालयमा आए पछि दुई वटा प्रमुख भन्सारमा नयाँ कर्मचारीलाई पठाइएको छ । अर्थमन्त्री पौडेलमाथि विचौलियाको पक्षमा काम गर्ने गरेको आरोप छ ।
धेरै राजस्व संकलन गर्ने वीरगञ्ज भन्सारमा अर्थमन्त्रालयले गणेश अर्याललाई पठाएको छ । त्यसैगरी, सुख्खा बन्दरगाह सिर्सिया पर्सामा लालबहादुर खत्रीलाई खटाएको छ ।
यसअघिका अर्थमन्त्री डा.युवराज खतिवडाले सरुवामा खासै चासो दिएका थिएनन् । अर्थमन्त्रालयका सचिव शिशिर ढुंगाना र रामप्रसाद पुडासैनीबीचको सरसल्लाहमा कर्मचारीको सरुवा गर्ने भएकाले खासै बुझाउनु पर्ने अवस्था थिएन । लामो समयदेखि विभिन्न भन्सार कार्यालयका प्रमुखहरु एकै ठाउँमा थिए । अहिले अर्थमन्त्री पौडेल आएपछि उनीमाथि आफ्नै पार्टीको कर्मचारी संगठन र नेताको भनसुन सुन्नुपर्ने बाध्यता छ । अधिकांश कार्यालयका प्रमुखको दुई वर्ष पुरा भएको छ । कार्यालय प्रमुखको समय दुई वर्ष पूरा भएपछि सरुवा गर्ने परम्परा रहेको छ ।
नेपालगंज, भैरहवा, रसुवा, महेन्द्रनगर, कृष्णनगर, धनगढीका भन्सार कार्यालयका प्रमुखको सरुवा नभएको दुई वर्ष पुगिसकेको छ । ती ठाउँमा जानका लागि लविङ सुरु भएको छ ।
भन्सार मात्र नभएर करदाता कार्यालयको प्रमुख पनि आकर्षक मानिन्छ । अधिकांश करदाता सेवा केन्द्रका प्रमुखको पनि समय अवधि दुई वर्ष पुगिसकेको छ । न्यूरोड, त्रिपुरेश्वर, पुतलीसडक, बालाजु, कोटेश्वर, टंगाल, महाराजगंज, चितवन, बीरगंज, धुलिखेल, भैरहवा, बुटवल, नेपालगंज, दमक, लहान, कृष्णनगर, धनगढी लगायतका कार्यालयमा पनि समय पुगेकाले ती ठाउँमा पनि परिवर्तन गर्ने तयारी भएको छ । ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय पनि आकर्षक मानिन्छन् । ती कार्यालयमा जान पनि लविङ भैरहेको छ ।