• गृहपृष्ठ /
  • Breaking News ,
  • उद्योग/ कर्पोरेट ,
  • मुख्य खबर ,
  • समाचार

मार्सी ब्राण्डको वियर आउँदै, के प्रचण्ड पनि साझेदार हुन् ?

काठमाडौं–एक समय मार्सी चामल निकै चर्चित थियो । ‘मेडिकल माफिया’को आरोप लागेका दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक गरे । त्यसपछि, मार्सी चामलको व्यापक प्रचार भयो ।

अहिले टेन्सवर्ग वियर उत्पादन गर्दै आएको टाइगर ब्रुअरीले मार्सी ब्राण्डको नयाँ वियर उत्पादन सुरु गरेर तिहार अघि लञ्च गर्ने तयारी गरेको छ । यही बेला टाइगर ब्रुअरीमा नयाँ लगानीकर्ताको रुपमा उनै दुर्गा प्रसाइँ प्रवेश गर्दैछन् । प्रसाईँलाई साझेदारीमा ल्याउने तयारी भएको टाइगर ब्रुअरीका सञ्चालक तेजेन्द्र खड्काले बताईसकेका छन् ।

दुर्गा प्रसाइँ प्रचण्ड निकटका व्यवसायी हुन् । टाइगर ब्रुअरीले दुर्गा प्रसाइँलाई साझेदारका रुपमा भित्राउने, मार्सी ब्राण्डको वियर उत्पादनको तयारी गरिरहँदा यो वियरमा कतै प्रचण्डको पनि लगानी त छैन भनेर चर्चा सुरु भएको छ । दुर्गा प्रसाईँलाई प्रचण्डको व्याकअप रहेकाले प्रसाईँ मेडिकल, जग्गा कारोबार हुँदै मदिरा उद्योगमा प्रवेश गरेकाले अघोषित रुपमा प्रचण्डको पनि लगानी भएको हुनसक्ने अडकलबाजी सुरु भएको छ ।

तर, टाइगर ब्रुअरीमा सञ्चालक खड्काले मार्सी ब्राण्डको वियर उत्पादन आफूले पहिले देखिनै तयारी गरेको बताएका छन् । खड्का अनुसार मार्सी चामलमा सुगर कम हुने भएकाले मार्सी चामलबाट बियर बनाउँदा बजार लिने अपेक्षा गरेका छन् । जुम्लाको मार्सी धानलाई प्रयोग गर्ने योजना बनाएका छन् । वियरमा जौको प्रयोग गरिँदै आएकोमा अब कच्चा पदार्थको रुपमा मार्सी चामल पनि प्रयोग गर्न लागिएको हो ।

२ अर्ब ४० करोड रुपैयाँ मूल्यांकन गरिएको टाइगर ब्रुअरीमा करिब आधा सेयर लिएर दुर्गा प्रसाईँ लगानीकर्ताका रुपमा प्रवेश गर्न लागेका हुन् । प्रसाईँलाई सेयर दिन लागेको टाइगर ब्रुअरीका सञ्चालक खड्काले बताएका छन् । झापामा बीएण्डसी मेडिकल कलेज, क्यान्सर अस्पताल, होटल र जग्गा कारोबार गर्दै आएका प्रसाइँले नयाँ क्षेत्रमा हात हाल्न थालेका हुन् । छोटो समयमा आर्थिक प्रगति गरेका प्रसाइँलाई राजनीतिक संरक्षण रहेको बताइन्छ । प्रसाइँलाई प्रचण्डसँग जोडेर हेर्ने गरिएको छ । उनले सार्वजनिक रुपमा नै प्रचण्डसँग नजिक रहेको बताउँदै आएका छन् । यस विषयमा प्रचण्डले भने औपचारिक रुपमा केही खण्डन गरेका छैनन् ।

प्रतिक्रिया