हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुनी वायुको प्रभाव देखिएको छ। देशका पश्चिमी भूभागमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ती प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।
रातिको समय पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहँदा कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको छ।