काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। साथै, घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए।
उनले घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट पारे। शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई तत्काल परिचालन गरिएको र गृहमन्त्री स्वयं घटनास्थलमा पुगेर अनुगमन गरिरहेको पनि उनले बताए।
प्रधानमन्त्रीका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समग्र सुरक्षा अवस्थाको समीक्षा गरिएको छ। साथै, केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा पनि निरन्तर संवादमार्फत अवस्था सामान्य बनाउन प्रयास भइरहेको छ।
सम्बोधनका क्रममा उनले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, असत्य सूचना र घृणाजन्य सामग्रीप्रति सचेत रहन आग्रह गर्दै सरकारी निकायबाट जारी आधिकारिक सूचनामा मात्र विश्वास गर्न सबै नागरिकलाई अपिल गरे।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक अधिकार दिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने बताए। कुनै एक स्थानमा भएको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषारोपण गर्ने वा प्रतिशोधको भावना फैलाउने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।
शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधिप्रति सरकार कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिँदै उनले आम नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र सञ्चारमाध्यमलाई धैर्य, संयमता र जिम्मेवारीका साथ राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरे।