काठमाडौँ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको संचित नाफा (रिटेन्ड अर्निङ) चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीको कुल रिटेन्ड अर्निङ गत वर्षको तुलनामा ३१.६१ प्रतिशतले संकुचित भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा १४ कम्पनीको कुल संचित नाफा १४ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा घटेर ९ अर्ब ३१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। यससँगै प्रति कम्पनी औसत रिटेन्ड अर्निङ पनि १ अर्ब ४ करोड ८३ लाख रुपैयाँबाट घटेर ६६ करोड ५५ लाख रुपैयाँमा झरेको देखिएको छ।
समीक्षा अवधिमा १४ मध्ये ११ जीवन बीमा कम्पनीको रिटेन्ड अर्निङमा गिरावट आएको छ। सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्सको संचित नाफा ७०.९४ प्रतिशतले घटेको छ। कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ५ करोड ४५ लाख रुपैयाँबाट घटेर ३० करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, नेपाल लाइफको ६५.३१ प्रतिशत, सिटिजन लाइफको ५९.०७ प्रतिशत, सूर्यज्योति लाइफको ४२.१८ प्रतिशत, नेशनल लाइफको ३९.७४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३९.३९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३६.६७ प्रतिशत, आइएमई लाइफको २७.६३ प्रतिशत, एलआईसी नेपालको २५.२८ प्रतिशत, रिलायबल नेपाल लाइफको २३.०८ प्रतिशत तथा एशियन लाइफको १७.२६ प्रतिशतले संचित नाफा घटेको छ।
बीमा क्षेत्रका अधिकांश कम्पनीको नाफा घटिरहेका बेला हिमालयन लाइफ इन्स्योरेन्सले भने उल्लेख्य सुधार देखाएको छ। कम्पनीको रिटेन्ड अर्निङ ४१.७४ प्रतिशतले बढेर ७० करोड २९ लाख रुपैयाँबाट ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले ३०.९० प्रतिशत वृद्धि गर्दै आफ्नो संचित नाफा ४ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले पनि १ प्रतिशतको सामान्य वृद्धि गर्दै ३८ करोड ७४ लाख रुपैयाँ रिटेन्ड अर्निङ कायम गर्न सफल भएको छ।
संचित नाफाको आधारमा एलआईसी नेपाल अर्ब रुपैयाँभन्दा बढी रिटेन्ड अर्निङ कायम राख्ने एकमात्र जीवन बीमा कम्पनी बनेको छ। कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ रहेको छ, यद्यपि यो गत वर्षको तुलनामा कम हो।
अन्य कम्पनीमध्ये हिमालयन लाइफको ९९ करोड ६३ लाख रुपैयाँ, नेपाल लाइफको ७८ करोड ३३ लाख रुपैयाँ, एशियन लाइफको ७१ करोड ७३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ६८ करोड ३० लाख रुपैयाँ, सूर्यज्योति लाइफको ५३ करोड ४० लाख रुपैयाँ, नेशनल लाइफको ५२ करोड ४९ लाख रुपैयाँ तथा आइएमई लाइफको ५२ करोड ८ लाख रुपैयाँ रिटेन्ड अर्निङ रहेको छ।
यसैगरी सिटिजन लाइफको ४७ करोड ९ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ३८ करोड ७४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३३ करोड २१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ३२ करोड २८ लाख रुपैयाँ, सन नेपाल लाइफको ३० करोड ६४ लाख रुपैयाँ तथा क्रेस्ट माइक्रो लाइफको ४ करोड ५६ लाख रुपैयाँ संचित नाफा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।