काठमाडौँ — पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक बन्दा दुर्गा प्रसाईंको संलग्नता रहेको सुरक्षा निकायको प्रारम्भिक विश्लेषण छ। सुरक्षाकर्मीहरूका अनुसार प्रदर्शनका एक संयोजक प्रसाईंले सवारी चलाउँदै सुरक्षाकर्मीलाई लक्षित गर्ने प्रयास गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजकसमेत रहेका प्रसाईं हाल फरार छन्। उनी प्रदर्शनस्थलबाट स्कोर्पियोमा चढेर हिँडेपछि शनिबार साँझसम्म पनि फेला परेका छैनन्। प्रहरीले उनको राहदानी कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गर्ने तयारी गरेको छ। प्रहरी अधिकारीहरूका अनुसार ब्ल्याकलिस्टमा राखिएपछि अन्तर्राष्ट्रिय सिमानामा नियन्त्रण गर्न सहज हुनेछ।
चैत १५ गतेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजक रहेका छन्। घटनापछि प्रदर्शनमा संलग्न नवराज सुवेदीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध फौजदारी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।