काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक समारोहमा तीन नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन्।
सरकारले अर्याललाई गृहमन्त्रालयसँगै कानुन मन्त्रालयको पनि जिम्मेवारी दिएको छ भने घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मा सुम्पिएको छ।
उनीहरूले आजैदेखि आफ्नो कार्यभार सम्हाल्ने भएका छन्। शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री कार्की, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायतका व्यक्तिहरू उपस्थित थिए।