पुतलीसडकमा चिया घर, २१ भेराइटी चिया पिउन पाइने

काठमाडौं–चिया घरको चौथो शाखा पुतलीसडकमा विस्तार भएको छ । चियाका पारखीलाई फरक–फरक स्वादका चिया पिलाउने उद्देस्यले सुरु भएको चिया घरले उपत्यकाका विभिन्न ठाउँमा शाखा विस्तार गर्दै आएको छ ।

बागलुङका तीन युवाहरुको सामूहिक लगानीमा पुतलीसडक स्टारमलबाट कुमारीहल जाने सडकको धोबीधारामा एकै पटक एक सय २० जनालाई चिया खुवाउन सक्ने क्षमताको चिया घर सञ्चालनमा आएको हो । चिया घरले यसअघि पुरानो बानेश्वर, पेप्सिकोला र ललितपुरको कुमारीपाटीबाट सेवा दिँदै आएको छ । चिया घरमा २१ प्र्रकारका तातो र चिसो चिया पिउने पाइन्छ । चियाका अतिरिक्त कफी, कोल्ड वेभरेज, हट लेमनको सेवा पनि दिँदै आएको छ ।

करिब ७० लाख रुपैयाँको लगानीमा बागलुङ जैमिनी नगरपालिका वडा नं ८छिस्तीका युवा केशवराज शर्मा, प्रकाश पौडेल र नविन पौडेलले संयुक्त लगानीमा चिया घर सञ्चालनमा ल्याएका हुन् ।

चिया घरको फेन्चाइज लिएर पुतलीसडकमा नयाँ शाखा विस्तार गरेको चियाघर पुतलीसडकका सञ्चालक केशवराज शर्माले बताए । नेपालीमा चिया संस्कृति बढ्दै गएकाले फरक–फरक स्वादमा चिया पिउने व्यवस्था मिलाउन नयाँ शाखा विस्तार गरेको शर्माले बताए । नेपाली युवाले आफ्नै रेसिपी बनाएर चिया घरको सुरुवात गरेका हुन् ।

चिय घरले चिया, साथी र गफ भन्ने नारा दिएको छ । चिया घरमा गएर चिया पिउँदै घण्टौसम्म बस्न पाइन्छ । चिया घरमा शान्त वातावरण भएकाले मन लागेको समय बस्न पाइने चिया घरका अर्का सञ्चालक प्रकाश पौडेलले बताए । फुर्सदको बेला साथीसँग शान्त वातावरण फरक भेराइटीका चियाको चुस्कीसँगै समय बिताउन पाउने भएकाले चिया, साथी र गफ भन्ने स्लोगान राखेको उनले बताए । ‘कतिपय ठाउँमा चिया पिउन बसेपछि टेवल खाली गरे हुन्थ्यो भन्ने पनि सुनिन्छ,’ पौडेलले भने, ‘चिया घरमा आफ्नो समय अनुसार बस्न पाइन्छ ।’
कोभिड–१९को संक्रमणले भएका व्यवसाय सञ्चालन कठिनाई भएको अवस्थामा पनि युवाहरुले नयाँ लगानी गरेर व्यवसाय सञ्चालनमा ल्याएका छन् । चिया पिउन आउनेहरुका लागि सामाजिक दुरी कायम हुने गरी टेवल र कुर्ची राखिएको पौडेलले बताए ।

चिया घरमा तालिम प्राप्त कुकहरुले चिया बनाउँछन् । चिया मसला भने चियाघरको मुख्य कार्यालयमा तयार हुन्छ । चिया घरका शाखाले ओर्जिनल मसला ल्याएर प्रयोग गर्छन् ।
नेपाली चियाको आफ्नै ब्राण्ड बनाउने उद्देस्यले चिया घर सञ्चालनमा ल्याइएको सञ्चालक बताउँछन् । चियाघरका शाखा क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको सुनाए ।

प्रतिक्रिया