काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा सहमति भएको दाबी गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देशबीचको शान्ति सम्झौता टुंगो लागेको र आगामी जुन १९ मा स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने जानकारी दिएका छन्।
प्रधानमन्त्री शरीफका अनुसार लामो र गहन वार्तापछि अमेरिका र इरान सैन्य गतिविधि तत्काल तथा स्थायी रूपमा अन्त्य गर्न सहमत भएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही रोक्ने निर्णय गरेको बताएका छन्।
शरीफको भनाइ सार्वजनिक भएको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूरा भएको संकेत दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँगको सहमति सम्पन्न भएको उल्लेख गरेका छन्।
इरानी अधिकारीहरूले पनि सम्झौताबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। उपलब्ध विवरणअनुसार सम्झौतामा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने, इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा क्षेत्रीय तनाव कम गर्ने विषय समावेश छन्।
पाकिस्तानले आफूले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको दाबी गर्दै कतार, साउदी अरब र टर्कीको योगदानप्रति पनि आभार व्यक्त गरेको छ। औपचारिक हस्ताक्षरअघि यसै साता विभिन्न चरणका प्राविधिक तथा कार्यान्वयनसम्बन्धी बैठकहरू हुने बताइएको छ।
विश्लेषकहरूका अनुसार सम्झौता कार्यान्वयनमा गएमा विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज पुनः पूर्ण रूपमा सञ्चालनमा आउनेछ। यसले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति सहज बनाउने र इन्धन मूल्यमा दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।