काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले शनिबार नामावली प्रकाशन गर्दै निर्वाचनको औपचारिक तयारीको एक महत्वपूर्ण चरण पूरा भएको जनाएको छ।
अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक ९ लाख १५ हजार ११९ मतदाता थपिएका छन्। अन्तिम नामावलीअनुसार देशभर कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ। यसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता रहेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावली ऐन, २०७३ र मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार प्रक्रिया पूरा गरी नामावली प्रकाशित गरिएको हो। आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरण समेटेर नामावली अन्तिम गरिएको उनले बताए। आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।