काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
संक्रमितमध्ये ७३ हजार ३२ जना संक्रमणमुक्त भएका छन् भने २७ हजार ५३ सक्रिय संक्रमित छन् । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ६ सय जनाको निधन भएको छ ।
जनजीवन सहज बनाउन खुकुलो गरिएको लकडाउन र नजिकिँदै गरेको चाडपर्वका कारण चहलपहल बढेको छ । एक ठाउँबाट अर्को स्थानमा आवतजावत गर्नेको संख्या पनि बढेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार पछिल्लो समय उपत्यका बाहिर जानेको संख्या बढेको छ । अहिले दैनिक २० हजारदेखि २१ हजार सर्वसाधरण उपत्यका बाहिर जान थालेका छन् ।
गत हप्तादेखि उपत्यका बाहिर जानेको संख्या दैनिक एक हजारदेखि १५ सयसम्म थपिने गरेको छ । त्यस्तै दैनिक ४७÷४८ सय सवारी साधन आवतजावत गर्ने गरेको तथ्याङ्क छ ।
सर्वसाधरणका साथै चालक तथा सह–चालकले स्वास्थ्यको मापदण्ड पालन गरे नगरेको अनुगमन महानगरीय ट्राफिक प्रहरीले गर्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए ।
उपत्यकामा संक्रमित हुने अधिकांश दैनिक रुपमा बढी हिँडडुल गर्नुपर्ने समूह छन् । पहिलो पटक कोरोना संक्रमितको उपचार सुरु गरेको टेकु अस्पतालमा पहिले त्रासका कारण मानिसहरु अस्पताल आउँथे । लक्षण देखिएकोहरुको परीक्षण गर्ने र अन्यलाई मनोपरामर्श दिएर पठाए पनि अहिले लक्षण भएकाहरु धेरै आउँछन् ।
अहिले परीक्ष(ण गरिएको स्वाबमध्ये दैनिक ३० देखि ४० प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको बताउँछन् अस्पतालका प्रमुख सरुवा रोेग विशेषज्ञ डाक्टर सागर कुमार राजभण्डारी । मानिसहरुले अझै पनि स्वास्थ्य मापदण्ड जानेर वा बुझेर पनि पालन नगर्दाको परिणाम भएको उनको तर्क छ ।
कस्तो मास्क प्रयोग गर्ने, कसरी मास्क प्रयोग गर्ने समेत थाहा नभएको मानिसले अरु मापदण्ड पालन गर्छन् त ? भन्ने पश्न चिह्न खडा भएकाले सरकारले यो विषयमा सचेतनाका साथै सजायको पनि कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाई छ ।
घरमा एक्लै हुँदा मास्क प्रयोग गर्नुपर्दैन तर, घर बाहिर निस्कनुपूर्व अनिवार्य मास्कको प्रयोग गर्ने, आफूले प्रयोग गरेको मास्क सही रुपमा डिस्पोज गर्ने, साथै सामाजिक दूरी अनिवार्य कायम गर्ने, साबुन पानीले हात धुने अथवा समय समयमा स्यानिटाइजरको प्रयोग गरे कोरोना संक्रमणबाट सुरक्षित रहने भएकाले सबैले यी विषयको पालन गर्न डा. राजभण्डारी सुझाव दिन्छन् ।
सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्ने सरकारले तयारी गरे पनि तत्काल लकडाउन नगर्ने मनस्थितिमा सरकार छ । अर्थात् अर्को निर्णय नभएसम्म लकडाउन नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब लकडाउनको औचित्य नभएको विज्ञहरुको तर्क छ । सुरुवातमा सरकारले लकडाउन गराएर जुन तयारी गर्नुपर्ने थियो, त्यसमा सरकार चुक्यो । नाकाहरुमा पनि संक्रमण समय भएपनि अब अर्को लकडाउन गर्नु भनेको झन समस्या थप्नु भएको बताउँछन् जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे ।
लकडाउनको समयमा जनघनत्व बढी भएको स्थानमा कोरोना संक्रमण कम गर्न अल्पकालिन र दीर्घकालिन योजना तयार गर्नुपर्दथ्यो, त्यो हुन सकेन । सरकारले पूर्वधारमा थप गर्न सक्थ्यो, परीक्षणका दायरा पनि बढाएन ।
लकडाउनको समयमा ठूलो सडकमा कडा कार्यान्वयन भएपनि साना भित्री बस्तीहरुमा गस्ती भएन । भित्री बस्तीमा लकडाउनको पालन भएन । मुख्य नाका बाहेक अन्य नाकाहरुमा नै पिसिआर परीक्षण गरिएको भए पनि केही कम हुन्थ्यो ।
सोही सकयमा भारतमा रहेका मजदुरहरु स्वदेश भित्रिए । नेपालमा कोरोनाको संिक्रमण बढिरहनु भनेको गृह प्रशासनको मौनताको परिणाम हो । अहिले भीडभाड हुने स्थानमा स्वास्थ्य सचेतना र सरकारले नै प्रभावकारी निगरानी गर्न जरुरी रहेको विज्ञहरुले बताएका छन् ।