डा. केसी र सरकारबीचको वार्ता बस्नेगरी स्थगित

सरकारी टोली र डा. केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे दश बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । उनले बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताए ।

अहिले सम्म भएको छलफललाई ड्राफ्ट बनाइ दुवै पक्षबिच फेरि छलफल भइ दिउँसो ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताए । उनले आफूहरुले जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पु¥याउन चाहेको समेत बताए ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिन यता अनशनरत छन् । सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन् । सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।

प्रतिक्रिया